प्रेमलकुमार खनाल
२०१३ सालमा निजामती सेवा ऐन जारी भएपछि एकीकृत ढङ्गले सञ्चालन हुँदै आएको निजामती सेवा राज्यको शासन प्रणालीको मेरुदण्ड र स्थायी सरकार नै हो । युगान्तकारी परिवर्तनसँगै स्वाभाविकरूपमा मुलुकको निजामती सेवाले प्राप्त उपलब्धीको जगमा उभिएर आफूलाई जनमुखी बनाउनुपर्ने ऐतिहासिक दायित्व पूरा गर्नुछ । युगौंदेखि नेपाली नागरिक सामन्ती एवं केन्द्रीकृत शासन प्रणालीबाट दमित हुँदै आएका छन् । शासन प्रणाली नै सामन्ती र केन्द्रीकृत भएका कारण कर्मचारीतन्त्रमा पनि यसको प्रभाव पर्नु स्वाभाविक थियो । कर्मचारीतन्त्रले विगतमा जनताको सेवक होइन, शासकको रूपमा भूमिका निर्वाह ग¥यो । यसले गर्दा निजामती सेवा विगतमा लोकप्रिय बन्न सकेको थिएन । अतः अब बद्लिंदो परिवेशमा निजामती सेवालाई कसरी जनमुखी बनाउने ? भनेर व्यापक छलफल आवश्यक छ । जनतालाई केन्द्र मानेर सेवालाई गुणस्तरीय बनाउन उनीहरूका पीरमर्का र गुनासोको सुनुवाइ गरी विना मोलाहिजा छिटो छरितो ढङ्गले सेवा प्रवाह गर्ने अवस्था निर्माण भयो भने निजामती सेवा जनताको अगाडि आँखाको नानीको रूपमा स्थापित हुन सक्छ ।
जनमुखी निजामती सेवाका लागि लक्ष्यमूलक व्यवस्थापन अपरिहार्य हुन्छ । निजामती सेवामा काम गरे पनि नगरे पनि हुने, नगरे वा पूरा नभएमा के हुन्छ ? आदि स्पष्ट दिशाबोध नहुँदा ‘सरकारी काम कहिले जाला घाम’ नै भएको छ । ०६२÷०६३को राजनीतिक परिवर्तनपछि समृद्ध नेपाल निर्माणमा बहस भइरहेको सन्दर्भमा निजामती सेवाले पनि आफ्ना कदम यसै दिशामा दृढतापूर्वक बढाउनु जरुरी छ । निजामती सेवालाई जनमुखी बनाउन, व्यवस्थापन विधामा विकास भएको अर्को नयाँ अवधारणा परिणाममुखी व्यवस्थापनलाई अवलम्बन गर्न अत्यावश्यक छ । सञ्चालित योजना÷आयोजना समयमै पुरा भएमा कार्यकुशलता रहेको मापन गर्न सकिन्छ तर अब कार्यकुशलता भएको मात्रै भनेर जनताले सेवा प्राप्त गरेको भन्ने निष्कर्ष निकाल्नु हुँदैन । जनताले आयोजना सञ्चालन भएपछि के कति लाभ हासिल गरे ? उत्पादनमा वृद्धि भयो भएन ? भन्ने विषयले आयोजनाको प्रभावकारिता रहन्छ भनेर अबको कार्यशैली कार्यकुशलता मात्रै हासिल गरेर हुँदैन, प्रभावकारिता पनि हासिल गर्नुपर्छ भन्ने दिशाबोध निजामती सेवाभित्र पदार्पण गर्न जरुरी छ ।
जनमुखी निजामती सेवाका लागि सक्षम नेतृत्वको अपरिहार्यता हुन्छ । सामन्ती शासनको प्रभावमा रहेको निजामती सेवामा सामन्ती अवशेष कायमै रहेकोे छ । निजामती सेवा भित्र अहिले पनि जोखिमपूर्ण काम गर्न नचाहने, बरु काम पन्छाउने, जनतालाई भन्दा हाकिमलाई मान्ने, कामको परिणामलाई भन्दा प्रक्रियालाई ध्यान दिने, दूरदृष्टिका साथ काम गर्न नरुचाउने, संस्थागत विनास भन्दा पनि वैयक्तिक विकासमा ध्यान दिने, सहभागितामूलक निर्णय प्रक्रियाभन्दा तजविजी निर्णय गर्ने, दण्ड र पुरस्कारलाई प्रभावकारीरूपमा लागू नगर्ने परिपाटीबाट निजामती सेवा मुक्त हुन नसकेको आरोप गलत भन्न सकिन्न । अब निजामती सेवाभित्र जनसेवालाई प्राथमिकता दिएर कार्य गर्ने कार्यशैली अवलम्बन गर्नुपर्दछ । जनतालाई प्रदान गरिएको सेवाको प्रभावकारिता अभिवृद्धि गर्न प्रतिबद्ध भएर काम गर्न ध्यान दिनुपर्छ । नीति र नियमले स्पष्ट दिशाबोध गरेको विषयलाई माथिको आदेश पर्खिएर बस्ने परिपाटी अन्त्य गर्नुपर्छ ।
जनमुखी निजामती सेवाका लागि निस्पक्ष र तटस्थ प्रशासन अहिलेको आवश्यकता हो । बहुलवादी समाजमा राजनीतिक विचार वा आस्थाबाट हरेक नागरिक प्रेरित भएझैं निजामती सेवाभित्र राजनीतिक विचार वा आस्था राख्ने कर्मचारीहरू हुन सक्छन् तर राष्ट्र र जनताको सेवा गरिरहेको राष्ट्रसेवकले सेवा प्रवाह गर्दा आफ्नो आस्था विचार झल्कने वा कसैलाई काखापाखा हुने गरी सेवा प्रवाह गर्नु हुँदैन । जनताले सेवा प्राप्त गरिरहँदा पक्षपात, भेदभाव र अन्यायको महशुस गरेमा निजामती सेवाले क्रमशः जनविश्वास गुमाउँदै जान्छ । यस्तै राजनीतिक हस्तक्षेपले प्रशासनलाई ध्वस्त पार्ने भएकाले यो ठूलो चुनौतीको विषय बनेको छ ।
निजामती सेवालाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन सकियो भने मात्र सेवाप्रति जनविश्वास बढेर जान्छ । आर्थिक अनियमितता र भ्रष्टाचार सार्वजनिक सेवाका क्षेत्रमा गम्भीर चुनौतीको विषय बनेको छ । भ्रष्टाचार न्यूनीकरण अथवा शून्य सहनशीलनाको नारा जति नै लगाए पनि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैं मुलुकको क्यान्सरका रूपमा प्रशासनभित्र जरा गाडेको भ्रष्ट मनोवृत्तिको जरालाई सदाका लागि उखेल्नु अहिलेको चुनौती हो । जीवनयापन गर्न पुग्ने तलब भत्ता सुविधा प्रदान गरेर आम राष्ट्रसेवकहरूको मनोवृत्तिमा नै सुधार गर्ने, अनियमितता र भ्रष्टाचारमा संलग्न दोषी व्यक्तिलाई कडा कारवाही गर्ने, त्यस्ता व्यक्तिलाई राजनीतिक तहबाट संरक्षण प्रदान नगर्ने परिपाटीको थालनी गर्नु पर्छ ।
निजामती सेवामा टे«ड युनियनको व्यवस्थापन हुन नसक्दा निजामती सेवाको लोकप्रियतामा अनेकन टिप्पणी हुने गरेको छ । ट्रेड युनियन संस्थाको विकासमा बाधक बनेको भनेर टे«ड युनियनप्रति पनि टिप्पणी हुने गरेको छ । टे«ड युनियनका नेता आफ्नो स्वार्थ पूरा गर्न टे«ड युनियनको पदीय हैसियतलाई दुरूपयोग गरिरहेको भन्ने आरोपले टे«ड युनियनको छविमा प्रश्न चिन्ह उठाएको छ । टे«ड युनियनका नेता कार्यकर्ताले के काम गर्नुपर्छ ? के गर्नु हुँदैन भन्ने स्पष्ट आचारसंहिता नहुँदा पनि कार्यशैली र जीवनशैलीका क्षेत्रमा समस्या उत्पन्न भएका छन् ।
सामुहिक सौदावाजी प्रयोजनका लागि आधिकारिक टे«ड युनियन (सिविए) निर्वाचन अपरिहार्य रहेको छ तर विगत १० वर्ष यता निजामती सेवामा सिविए निर्वाचनको विषय प्राथमिकतामा पर्न सकेको छैन । आधिकारिक टे«ड युनियनको निर्वाचनको माग कतिपय टे«ड युनियनहरूले गर्न नै चाहँदैनन् किनकि निर्वाचन हुने वित्तिकै पराजय होइन्छ भन्ने भय रहेको पाइन्छ । सरकारले पनि यस विषयलाई प्राथमिकतामा राखेको पाइँदैन । राजनीतिक नेतृत्व तहबाट पनि यस विषयलाई महŒव दिइएको छैन । टे«ड युनियनका नाममा भइरहेको अवसरवादी प्रवृत्ति र अराजक गतिविधिले टे«ड युनियन आन्दोलनकै बदनाम भइरहेको छ, तर यसतर्फ गम्भीर ध्यान गएको छैन ।
जनतालाई केन्द्रविन्दु मानेर कार्य गर्दा जनताले छिटो छरितो सेवा प्राप्त गर्छन् र सङ्गठनात्मक लक्ष्य हासिल गर्न पनि मद्दत पुग्छ । सङ्गठनात्मक लक्ष्य प्राप्ती हुँदा व्यक्तिको पनि लक्ष्य हासिल भई सङ्गठन र व्यक्ति दुवैको छवि पनि उँचो हुन्छ, तर निजामती सेवामा सङ्गठनको लक्ष्य पूरा गर्न भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्नका लागि ध्यान दिने परिपाटी विद्यमान रहेको छ । राम्रो र कमाई हुने कार्यालयमा सरुवा हुन अपहत्ते गर्ने अनि त्यही नै थमौतीका लागि शक्ति केन्द्र र टे«ड युनियनहरूसँग हारगुहार गर्ने परिपाटीले सरुवा प्रणाली फितलो बन्ने गरेको छ । सरुवा प्रणालीलाई व्यवस्थित, पारदर्शी र चक्रीय पद्धतिबाट अगाडि बढाउन सकिएन भने जनमुखी सेवा प्रवाह गर्न झन् कठिनाइ उत्पन्न हुने देखिएको छ ।
जनमुखी निजामती सेवाका लागि सङ्गठनभित्र उत्पन्न द्वन्द्वलाई यथासमयमा व्यवस्थापन गर्नुपर्छ । समस्या पन्छाउने, आपसी संवाद गर्न नचाहने, कार्यालयभित्र उत्पन्न समस्यालाई स्टाफ मिटिङ राखेर मैत्रीपूर्ण ढङ्गले समाधान गर्न ध्यान नदिने परिपाटीले सेवा प्रवाह गुणस्तरीय र जनमुखी बन्न सक्दैन । विपद् व्यवस्थापन जनमुखी सेवाका लागि महŒवपूर्ण आधार हो । यसपटकको प्रलयकारी महाभूकम्पका बखत सरकारी स्तरबाट भएको ढिलासुस्ती, राहत र पुनस्र्थापनाका लागि चाहिने सामग्रीको भण्डारण र आपूर्तिमा देखिएको कमीबाट पनि विपद् व्यवस्थापन प्रभावकारी नभएको पाइएको छ । अतः सबै मन्त्रालय, विभाग र कार्यालयस्तरसम्म विपद्को बखत कसरी व्यवस्थापन गर्ने भन्ने पूर्व तयारी गर्न आवश्यक छ । निजामती सेवाको लोकप्रियता भनेकै विपद् परेको बखत उद्दार र पुनस्र्थापना गर्ने क्षमतामा निर्भर हुने हुँदा यसतर्फ ध्यान दिन आवश्यक छ । उच्च मनोबलयुक्त कर्मचारी मात्र राष्ट्र र जनताको सेवामा उत्प्रेरित हुन सक्छन् । कर्मचारीको मनोबल अभिवृद्धि गर्ने मौद्रिक र गैह्रमौद्रिक सेवा र सुविधालाई समयोचित वृद्धि गर्न
ध्यान दिनु आवश्यक छ । मुलुक अब सङ्घीयतामा जाने हुँदा सङ्घीयतामा कर्मचारीको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा पूरा तयारी अहिलेदेखि नै गर्न आवश्यक छ ।गोरखापत्र






0 comments:
Post a Comment